बेलबारी, मोरङ। बेलबारी नगरपालिका–११ जुराहकी असहाय कलमति धिमाल (स्थानीयले ‘गुन्द्रुकनी बज्यै’ भनेर चिन्ने) आइतबार नयाँ घर पाएपछि निकै भावुक र खुसी देखिइन्।
धिमालको पुरानो घर जीर्ण भई बस्नै नमिल्ने अवस्थामा पुगेपछि श्रम संस्कृति पार्टीका श्रमदाताहरूले श्रमदानमार्फत नयाँ घर निर्माण गरेका हुन्। निर्माण सम्पन्न भएको घरको उद्घाटन गर्दै पार्टीका अध्यक्ष हर्क साम्पाङले कलमति धिमाललाई घरको चाबी हस्तान्तरण गरे।
घर हस्तान्तरण कार्यक्रममा स्थानीयवासी, श्रमदाता तथा पार्टीका कार्यकर्ताको सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै अध्यक्ष साम्पाङले श्रमदानको संस्कृतिले समाजमा रहेका असहाय र विपन्न नागरिकको जीवनस्तर सुधार्न महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले सरकारी सहयोगको प्रतीक्षा मात्र नगरी समाजका सक्षम व्यक्तिहरू एकजुट भएर आवश्यक परेका नागरिकको साथमा उभिनुपर्ने धारणा व्यक्त गरे।
स्थानीयका अनुसार कलमति धिमाल लामो समयदेखि अत्यन्तै कमजोर आर्थिक अवस्थाका कारण जीर्ण घरमा बस्न बाध्य थिइन्। पुरानो घर भत्किन सक्ने जोखिम बढेपछि श्रम संस्कृति पार्टीका श्रमदाताहरूले सामूहिक श्रमदान गरी सुरक्षित नयाँ घर निर्माण गरिदिएका हुन्।
नयाँ घरको चाबी ग्रहण गरेपछि कलमति धिमालले आफ्नो जीवनमा नयाँ आशा पलाएको बताउँदै घर निर्माणमा सहयोग गर्ने सम्पूर्ण श्रमदाता तथा सहयोगीप्रति आभार व्यक्त गरिन्। नयाँ घर पाएपछि उनको अनुहारमा खुसी स्पष्ट देखिन्थ्यो।
श्रमदानमार्फत असहाय नागरिकका लागि सुरक्षित आवास निर्माण गर्ने अभियानलाई स्थानीयले सामाजिक एकता र मानवीय सेवाको उत्कृष्ट उदाहरणका रूपमा लिएका छन्।
