बेलबारी, मोरङ | जुलाई ८
नेपाली किसानलाई समयमै सही, भरपर्दो तथा वैज्ञानिक कृषि सूचना उपलब्ध गराउने उद्देश्यका साथ पाहाडी ल्याब्स (Pahadi Labs) ले विकास गरेको ‘कृषिपात्रो’ मोबाइल एप आज (जुलाई ८) देखि Google Play Store मार्फत औपचारिक रूपमा सार्वजनिक गरिएको छ।
“कृषिका लागि प्रविधि, किसानको समृद्धि” भन्ने नारासहित विकास गरिएको कृषिपात्रोले किसान, कृषि विद्यार्थी, प्राविधिक, कृषि उद्यमी तथा कृषि क्षेत्रमा रुचि राख्ने सबैका लागि आवश्यक कृषि जानकारी, उपयोगी उपकरण तथा सेवाहरू एउटै एपमार्फत निःशुल्क उपलब्ध गराउने लक्ष्य राखेको छ।
एप डाउनलोड गर्न यहाँ QR स्क्यान गर्नुहोस्।

कृषिपात्रो नेपालको पहिलो यस्तो कृषि एप हो, जसले नेपाली, अंग्रेजी, मैथिली, भोजपुरी, थारू र तामाङ गरी ६ भाषामा सेवा उपलब्ध गराउँछ। यसले विभिन्न समुदायका किसानलाई आफ्नै मातृभाषामा कृषि जानकारी प्राप्त गर्ने अवसर प्रदान गर्दै प्रविधिलाई गाउँ–गाउँसम्म पुर्याउने विश्वास लिएको छ।
एपमा नेपालका सबै ७७ जिल्लाका लागि दैनिक मौसम पूर्वानुमान उपलब्ध छ। प्रत्येक बिहान ६ बजे किसानले आफ्नो जिल्लाका लागि वर्षा, भारी वर्षा, गर्मीको लहर (Heat Wave), अत्यधिक आर्द्रता तथा तीव्र हावाजस्ता सम्भावित मौसमी जोखिमबारे Push Notification प्राप्त गर्नेछन्। साथै प्रत्येक सोमबार साताभरको मौसम विश्लेषण उपलब्ध हुने भएकाले किसानले बाली रोपाइँ, मल प्रयोग, विषादी छर्काइ तथा अन्य कृषि कार्यको योजना समयमै बनाउन सक्नेछन्।
किसानलाई बजारको वास्तविक अवस्था बुझ्न सहज होस् भन्ने उद्देश्यले एपमा कालीमाटीसहित नेपालका १०+ भन्दा बढी प्रमुख कृषि तथा तरकारी बजारहरूको दैनिक कृषि उपजको मूल्य समावेश गरिएको छ। यसले किसानलाई आफ्नो उत्पादन बिक्री गर्ने उपयुक्त समय छनोट गर्न तथा बजार मूल्यको आधारमा उचित निर्णय लिन सहयोग पुर्याउनेछ।
कृषिपात्रोमा नेपाल कृषि अनुसन्धान परिषद् (NARC) तथा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका डाटाका आधारमा ७७+ भन्दा बढी बालीको डिजिटल बाली पात्रो समावेश गरिएको छ। यसले बाली रोप्ने, व्यवस्थापन गर्ने, मल प्रयोग गर्ने तथा भित्र्याउने उपयुक्त समयबारे जानकारी उपलब्ध गराउँछ। पुस्तौँदेखि प्रयोग हुँदै आएको कृषि ज्ञानलाई आधुनिक डिजिटल माध्यममा रूपान्तरण गर्ने उद्देश्यले यो सुविधा विकास गरिएको हो।
बाली सुरक्षा सुविधाअन्तर्गत धान, मकै, आलु, गोलभेँडा तथा तोरीमा देखिने ५० भन्दा बढी सामान्य रोग तथा कीराको समस्या सम्बन्धी विस्तृत जानकारी र चरणबद्ध समाधान उपलब्ध छ। विशेषता के हो भने यो सुविधा इन्टरनेट बिना पनि (Offline) प्रयोग गर्न सकिन्छ, जसले दुर्गम क्षेत्रमा रहेका किसानलाई समेत सहज बनाउनेछ।
एपमा रहेको Pesticide Dose Calculator ले स्प्रेयरको प्रकार र खेतको क्षेत्रफलका आधारमा आवश्यक विषादीको सही मात्रा गणना गर्न सहयोग गर्छ। यसले अत्यधिक वा कम विषादी प्रयोग हुने समस्या घटाई सुरक्षित तथा प्रभावकारी विषादी प्रयोगमा मद्दत पुर्याउने उद्देश्य राखेको छ।
यसका साथै नेपालका सबै जिल्लाका कृषि ज्ञान केन्द्र (DADO) हरूको सम्पर्क विवरण पनि एपमा समावेश गरिएको छ, जसले किसानलाई आवश्यक परे स्थानीय कृषि प्राविधिकसँग प्रत्यक्ष सम्पर्क गर्न सहज बनाउँछ।
कृषिपात्रो पूर्ण रूपमा निःशुल्क उपलब्ध छ। एपमा कुनै विज्ञापन समावेश गरिएको छैन र भविष्यमा पनि किसानबाट प्रत्यक्ष शुल्क नलिने परियोजनाको प्रतिबद्धता रहेको पाहाडी ल्याब्सले जनाएको छ।
पाहाडी ल्याब्सका अनुसार कृषिपात्रोमा आगामी दिनमा थप आधुनिक सुविधाहरू क्रमशः समावेश गरिनेछन्। निकट भविष्यमा सधैं स्क्रिनमा देखिने Pinned Weather Notification, रोपनी, आना, कठ्ठा, बिघादेखि मेट्रिक प्रणालीसम्मको Land Area Calculator, कीरा तथा रोग पहिचान सुविधा तथा विस्तृत कृषि सिफारिस सार्वजनिक गरिनेछ। आगामी चरणमा कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरी फोटोबाट कीरा तथा रोग पहिचान गर्ने सुविधा पनि थपिने योजना रहेको छ।
दीर्घकालीन योजनाअन्तर्गत मोबाइलमै सञ्चालन हुने AI आधारित बाली रोग पहिचान प्रणाली, मल तथा NPK मात्रा गणक, कृषि उत्पादनको विश्लेषण प्रणाली तथा व्यावसायिक किसान र कृषि सहकारीका लागि छुट्टै ‘iFarm’ प्लेटफर्म विकास गरिने तयारी रहेको कम्पनीले जनाएको छ।
परियोजनाका संस्थापक (Founder) सेवक गौतमले कृषिपात्रोको अवधारणा, अनुसन्धान, सम्पूर्ण फिचरको योजना, डिजाइन तथा मोबाइल एप विकासको नेतृत्व गरेका हुन्। उनका अनुसार,”पुर्खाको पात्रो, अब फोनमा। हाम्रो उद्देश्य परम्परागत कृषि ज्ञानलाई आधुनिक प्रविधिसँग जोडेर प्रत्येक नेपाली किसानको हातहातमा पुर्याउनु हो। कृषिपात्रो एउटा एप मात्र होइन, किसानको दैनिक डिजिटल साथी बन्ने हाम्रो प्रयास हो।”
उनले Android संस्करण सार्वजनिक भइसकेको र iOS संस्करण पनि विकासको अन्तिम चरणमा रहेको जानकारी दिँदै छिट्टै Apple App Store मार्फत पनि उपलब्ध गराइने बताए।
परियोजनाका सह-संस्थापक (Co-founder) शिशिर शोभन दवाडीले परियोजनाको समन्वय, रणनीतिक योजना, समुदायसँगको सम्पर्क, सामाजिक सञ्जाल व्यवस्थापन तथा प्रयोगकर्तासँगको सञ्चार पक्षको नेतृत्व गरिरहेका छन्। उनका अनुसार कृषिपात्रो समुदायको सुझावका आधारमा निरन्तर सुधार हुँदै जानेछ र आगामी संस्करणहरूमा किसानले प्रत्यक्ष अनुभव गर्ने थप उपयोगी सुविधाहरू समावेश गरिनेछन्।
पाहाडी ल्याब्स (Pahadi Labs) नेपालका वास्तविक समस्याहरू समाधान गर्ने उद्देश्यले प्रविधिमार्फत उपयोगी डिजिटल उत्पादन विकास गर्ने नेपाली प्रविधि कम्पनी हो। कृषिपात्रो यसको पहिलो सार्वजनिक उत्पादन हो, जसले प्रविधिलाई नेपाली किसानको दैनिकीसँग जोड्ने प्रयास गरेको छ। आगामी दिनमा कृषि, विपद् व्यवस्थापन, शिक्षा तथा स्थानीय समस्याको समाधान गर्ने थप डिजिटल उत्पादनहरू विकास गर्ने कम्पनीको योजना रहेको छ।
आजदेखि देशभरका Android प्रयोगकर्ताले Google Play Store बाट ‘कृषिपात्रो’ निःशुल्क डाउनलोड गरी प्रयोग गर्न सक्नेछन्। पाहाडी ल्याब्सले सम्पूर्ण किसान, कृषि विद्यार्थी, प्राविधिक तथा कृषि क्षेत्रमा रुचि राख्ने सबैलाई एप डाउनलोड गरी प्रयोग गर्न तथा सुझाव–सल्लाहमार्फत यसलाई अझ प्रभावकारी बनाउन सहयोग गर्न आग्रह गरेको छ।
डाउनलोड गर्न यहाँ क्लिक गर्नु होस ।
https://play.google.com/store/apps/details?id=com.krishipatro.com
