बेलबारी | सुरिलो पोस्ट
नेपाली कृषि क्षेत्रलाई डिजिटल प्रविधिसँग जोड्दै किसानलाई समयमै आवश्यक सूचना उपलब्ध गराउने उद्देश्यले विकास गरिएको ‘कृषि पात्र’ मोबाइल एप अब गुगल प्ले स्टोरमा सार्वजनिक भएको छ।
किसानको दैनिक कृषि कार्यलाई सहज, प्रभावकारी र वैज्ञानिक बनाउने लक्ष्यका साथ तयार गरिएको यस एपमार्फत मौसम पूर्वानुमान, बजार मूल्य, बाली व्यवस्थापन, रोपाइँसम्बन्धी जानकारी, कृषि प्रविधि, रोग–कीरा नियन्त्रणका उपाय तथा अन्य उपयोगी कृषि सूचना सहज रूपमा प्राप्त गर्न सकिनेछ।
एपमा धान, मकै, कोदो लगायतका विभिन्न बालीबारे जानकारीका साथै असारे संस्कृति, दही–चिउरा, रोपाइँ, असारे भाका तथा हिलो खेल जस्ता नेपाली कृषि संस्कृतिका विविध पक्षहरूलाई पनि समेटिएको छ। यसले परम्परागत कृषि ज्ञानलाई आधुनिक प्रविधिसँग जोड्दै किसानलाई सही समयमा सही निर्णय लिन सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
‘कृषिका लागि प्रविधि, किसानको समृद्धि’ भन्ने नारासहित सार्वजनिक गरिएको ‘कृषि पात्र’ एप अब गुगल प्ले स्टोरबाट निःशुल्क डाउनलोड गरी प्रयोग गर्न सकिनेछ। कृषि विद्यार्थी, प्राविधिक तथा कृषि क्षेत्रमा रुचि राख्ने सबैका लागि समेत यो एप उपयोगी हुने विश्वास लिइएको छ।
यस परियोजनाको नेतृत्व सेवक गौतमले गरेका हुन्। उनका अनुसार किसानलाई आवश्यक कृषि सूचना एउटै डिजिटल प्लेटफर्ममार्फत सहज रूपमा उपलब्ध गराई कृषि क्षेत्रलाई प्रविधिमैत्री, आधुनिक र उत्पादनमुखी बनाउने उद्देश्यका साथ ‘कृषि पात्र’ एप विकास गरिएको हो। उनले सम्पूर्ण किसान तथा कृषि क्षेत्रमा रुचि राख्ने सबैलाई एप डाउनलोड गरी यसको अधिकतम उपयोग गर्न आग्रह गरेका छन्।
