बेलबारी । नेपाली कृषि क्षेत्रलाई डिजिटल प्रविधिसँग जोड्दै किसानलाई समयमै सही र भरपर्दो कृषि सूचना उपलब्ध गराउने उद्देश्यले विकास गरिएको ‘कृषिपात्रो’ मोबाइल एप आगामी ६ दिनभित्र गुगल प्ले स्टोरमा सार्वजनिक हुने भएको छ।

किसानको दैनिक कृषि कार्यलाई सहज, प्रभावकारी तथा वैज्ञानिक बनाउने लक्ष्यसहित तयार गरिएको यस एपमार्फत मौसम पूर्वानुमान, कृषि उपजको बजार मूल्य, रोपाइँ तथा बाली व्यवस्थापनसम्बन्धी जानकारी, आधुनिक कृषि प्रविधि, रोग तथा कीरा नियन्त्रणका उपायलगायतका विविध कृषि सूचना एकै स्थानबाट सहज रूपमा प्राप्त गर्न सकिनेछ।

राष्ट्रिय धान दिवस तथा असार महिनाको अवसरलाई लक्षित गरी सार्वजनिक हुन लागेको ‘कृषिपात्रो’ एपले परम्परागत कृषि ज्ञानलाई आधुनिक डिजिटल प्रविधिसँग जोड्दै किसानलाई सही समयमा सही निर्णय लिन सहयोग गर्ने विश्वास लिइएको छ।

एपमा धान, मकै, कोदो लगायतका प्रमुख बालीबारे विस्तृत जानकारी समावेश गरिएको छ। साथै नेपाली कृषि संस्कृतिको मौलिक पहिचान झल्काउने असारे संस्कृति, दही–चिउरा, रोपाइँ परम्परा, असारे भाका तथा हिलो खेलजस्ता सांस्कृतिक पक्षहरूलाई समेत समेटिएको छ।

‘कृषिका लागि प्रविधि, किसानको समृद्धि’ भन्ने नारालाई आत्मसात् गर्दै विकास गरिएको ‘कृषिपात्रो’ एप किसान, कृषि विद्यार्थी, प्राविधिक तथा कृषि क्षेत्रमा रुचि राख्ने सम्पूर्ण व्यक्तिका लागि उपयोगी डिजिटल माध्यम बन्ने अपेक्षा गरिएको छ।

यस परियोजनाको नेतृत्व सेवक गौतमले गरिरहेका छन्। उनका अनुसार किसानलाई आवश्यक कृषि सूचना एउटै प्लेटफर्ममार्फत सहज रूपमा उपलब्ध गराई नेपालको कृषि क्षेत्रलाई थप आधुनिक, प्रविधिमैत्री तथा उत्पादनमुखी बनाउने उद्देश्यका साथ ‘कृषिपात्रो’ एप विकास गरिएको हो।

एप सार्वजनिक भएपछि देशभरका प्रयोगकर्ताले गुगल प्ले स्टोरबाट निःशुल्क डाउनलोड गरी प्रयोग गर्न सक्नेछन्। परियोजना पक्षले सम्पूर्ण किसान तथा कृषि क्षेत्रमा रुचि राख्ने सबैलाई एप प्रयोग गरी यसको लाभ लिन आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *