
लेटाङ, असार २० — मोरङको लेटाङ नगरपालिका क्षेत्रमा सिटी सफारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।
शनिबार दिउँसो पोखरीबाट लेटाङ बजारतर्फ आउँदै गरेको अनटेस्ट सिटी सफारी फारलाइन क्षेत्रमा अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा लेटाङ–४ सिद्धार्थ लाइन निवासी अन्दाजी ६० वर्षीया सञ्चमाया लावती गम्भीर घाइते भएकी थिइन्। उपचारका लागि विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक सागर साहले जानकारी दिएका छन्।
दुर्घटनामा सिटी सफारीमा सवार अन्य तीन जना घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
सिटी सफारी चालक लेटाङ–४ निवासी ३७ वर्षीय वीरबहादुर राई सामान्य घाइते भएका छन्। उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
